रंगखबर, काठमाडौँ: नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।
काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले भने,‘हामीले यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतीलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ ।’
उनले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्ने बताए ।
आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।
यस्तै, ‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन् ।
यस्तै, कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छिन् । आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’ लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी गराइयो ।
नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ । अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ ।
यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायक मध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताईन् । उनले भनिन्,‘यो नेपाली गीत र नृत्यमा आफ्नो भविष्य देख्नेका लागि ठूलो अवसर हो । यसले कला र संस्कृतिको प्रवर्द्धन सँगै विश्वभर छरिएका प्रतिभाको सपना सकार बनाउने काम गर्दैछ । म यो परिवारमा निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित छु ।’
आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।