रंगखबर, काठमाडौँ: कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् ।
बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई फिल्मका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ’, बुद्धि भन्छन् ।
बुद्धिको बुझाईमा फिल्म भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिनु नै हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो फिल्म हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धि खुल्छन् ।
फिल्मको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । ‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’
बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला फिल्म भन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि भन्छन् ।
निर्देशक वसन्त निरौलासँग बुद्धिको फिल्म ‘होलिडे’ पछि दोस्रो सहकार्य हो । उनले जितुसँग ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् । फिल्म ‘कार्साङ’मा पनि बुद्धिले जितुसँग सहकार्य गरेका छन् ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।