‘नेगेटिभ क्यारेक्टर’ गर्न चाहन्छु – गौरव पहरी



रंगखबर, काठमाडौँ: अभिनेता गौरव पहारीले फिल्मी करियरमा फरक–फरक चरित्र निभाए । कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक फरक फ्लेभरका फिल्ममा अभिनय गरे । फरक फिल्ममा फरक चरित्र निभाएका गौरव यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् । ‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टर गरेको छु । फिल्मपिच्छे फरक चरित्र निभाइरहेको म एउटै फिल्ममा धेरै जनरालाई अंगाल्दा चुनौती धेरै थियो । सबै चरित्रहरु एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले पनि नम्बरी सुनमा काम गर्न सहमत भएँ’ गौरव भन्छन् ।

फिल्ममा गौरव तल्लो वर्गको र नायिका नम्रता सापकोटा माथिल्लो वर्गको पात्र हुन्छन् । ‘मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । फिल्ममा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो टोल टोलमा सुन पसल हुँदैन थियो । फिल्ममा मेरो बुवाले गाउँ डुल्दै गाउँका मुखियाहरु कहाँ महिनौं बिताएर सुन बनाउनु हुन्छ’, उनी भन्छन् । गौरवका अनुसार फिल्ममा उनको चरित्र सहयोगी किसिमको छ । ‘यो गाउँकै कथा हो । गाउँमा साथीहरुसँग हल्लिएर हिँडेर, बस्ने चत्रिर छ । तर ऊ गाउँमा कोही कसैलाई केही मद्दत चाहियो भने उसलाई मद्दत गर्छ । तर त्यसको परिणाम कस्तो आउँछ भन्ने उसले सोच्दैछन । परिणामले ऊ खुशी पनि हुन्छ र पछुताउँछ पनि’, गौरव आफ्नो चरित्र खुलाउँछन् ।

एकै पात्रले फरक फरक चरित्र निभाउँदा पनि गौरवलाई धेरै असहज भएको रहेनछ । ‘आज एउटा चरित्र निभाएको हुन्छु । भोलि अर्को चरित्र निभाउनु पर्ने हुन्छ । चरित्र परिवर्तन गरिरहँदा मलाई केही अप्ठ्यारो भएन । किनकी मलाई अन्य कलाकारहरुले सहयोग गर्नुभयो’, गौरव भन्छन्, ‘आज एउटा र भोलि अर्को जनरा गर्दा चरित्रमा मिश्रण भएन । म कट हुने बित्तिकै त्यो जोनबाट हटिहाल्थें ।’ यो फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको द्वन्द्वको दृश्य छ । त्यो दृश्य खिचिरहँदा उनी निकै ‘नर्भस’ भएका रहेछन् । ‘राजेन्द्र खड्गी अंकलसँग मेरो वान एण्ड वान एक्सन दृश्य छ । त्यो एक्सन कम्पोज अलिकति लामो थियो । एक्सन गर्ने भनेपछि भित्रबाट त्यो खालको जोश आइहाल्छ, नियन्त्रणमा हुँदैन । मैले एक्सन गर्ने बेलामा राजेन्द्र अंकलको टाउको छुनु पर्ने थियो । तर मैले झड्याम्मै बजाइदिएँ’, गौरवले सम्झिए, ‘तर उहाँले छोड्नु भएको थिएन । म आफैं नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकें । अनि अंकलले ‘गौरव किन रोकेको कन्टिन्यू गर्नुपथ्र्यो नि’ भन्नुभयो । मैले ‘म नर्भस भएँ । त्यसकारण रोकें’ भनेपछि उहाँले कुरा बुझ्नुभयो ।’

गौरव आफ्नो जीवनमा ‘नम्बरी सुन’ सम्झिइरहने फिल्ममा पर्ने दाबी गर्छन् । ‘किनभने मलाई यसको जनरा मनपरेको छ । एक्सन, प्रेम, कमेडी सबै छ । सायद भोलि गएर अरु फिल्ममा यस्तो गर्न पाउँछु कि पाउँदिन । सरोज खनाल, राजेन्द्र खड्गीसँग स्क्रिन शेयर गर्ने मौका पाएँ । हत्तपत्त सबैले त्यो अवसर लिएर आएको हुँदैन’, उनी भन्छन् ।

गौरव ‘नेगेटिभ क्यारेक्टर’ गर्न चाहन्छन् । उनको बुझाईमा त्यो चरित्र देख्नासाथ ‘भिलेन’ जस्तो नदेखियोस् । ‘देख्ने बित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो । उसको परिचय नै भिलेन होइन, तर काम गर्दै गएपछि लास्टमा ‘ए भिलेन यो पो रहेछ’ भन्ने किसिमको भान दर्शकमा होस्’, गौरव खुलाउछन् ।

प्रतिक्रिया दिनुहोस्