स्टार वाच – अनमोल भर्सेस ‘पुजार सार्की’



रंगखबर, काठमाडौँ – सालको सुरुवातमा रिलिज ‘बोक्सीको घर’ले बक्सअफिसमा सफलताको झण्डा गाड्दा ‘मनसरा’ले भने अपेक्षित व्यापार गर्न चुक्यो।

बैशाखको अन्तिम फिल्म स्वरुप रिलिज भएको ‘खजुरे ब्रो’को डिजास्टर अन्त्यसंगै अब सबैको ध्यान जेठ १० तर्फ मोडिएको छ। यो मितिमा अनमोल केसी स्टारर ‘फर्की फर्की’ र आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह स्टारर ‘पुजार सार्की’ रिलिज हुँदैछन्।

यो मिति विशेषत युवापुस्ता बीच क्रेज बनाएका अभिनेताबीचको भिडन्त हुनेछ। अनमोल, प्रदीप र पललाई आफ्नो स्टारडम पुन: एक पटक पुष्टि गर्नुपर्ने अवस्था छ। भने आर्यन ८ वर्षे लामो असफलताको खडेरी तोड्ने दाउमा हुनेछन।

आर्यन सिग्देल

‘किस्मत’ डेब्यु अभिनेता आर्यनलाई पछिल्लो दशक भाग्यले साथ दिएको छैन। यो दशकमा आर्यनका १६ फिल्म रिलिज हुँदा ४ ले मात्र व्यवसायिक सफलता हाँसिल गरेका छन्। २०७२ सालमा रिलिज ‘क्लासिक’पछि आर्यनले सफलताको स्वाद चाख्न पाएका छैनन्।

‘क्लासिक’ त्यो फिल्म हो जुन प्रदीपको पहिलो सफल फिल्म ‘प्रेमगीत’संग बक्सअफिसमा भिडेको थियो। त्यसयता प्रदीप बक्सअफिसमा छाउन थाले। आर्यनका भने लगातार ७ फिल्म असफल बने।

यसबिचमा ‘आई एम सरी’, ‘नोभेम्वर रेन’ र ‘क्लासिक’को सफलतापछि आर्यन र निर्देशक दिनेश राउतको सहकार्यमा ब्रेक लागेको थियो। अन्तत: राउतले प्रदीपलाई दोह्र्याउदै आर्यनसंग चौंथो पटक ‘पुजार सार्की’मा सहकार्य गर्न सफल भएका छन्।

प्रदीप खड्का

वर्तमानमा प्रदीपको क्रेज लोभलाग्दो छ भनिन्छ। तर, उनको फिल्मी ग्राफ भने उतारचढावपूर्ण देखिन्छ। डेब्यु ‘इस्केप’को असफलतालाई दोस्रो फिल्म ‘प्रेमगीत’ले परिपूर्ति गरेपनि उनले घरेलु बक्सअफिसमा ब्लकबस्टर फिल्म दिन सकेका छैनन।

‘प्रेमगीत २’, ‘प्रेमगीत ३’ र ‘लिलिबिली’ले प्रदीपलाई राहत दिएपनि ‘रोज’, ‘लभ स्टेशन’ र ‘प्रकाश’ले सफलता हाँसिल गर्न सकेनन। भलै ‘प्रकाश’मा गरेको अभिनयबाट प्रदीपले प्रशंसा बटुले।

पल शाह

अभिनेता पल शाहले म्युजिक भिडियोमा १ नम्बरको ताज पहिरिएपनि फिल्ममा अपेक्षित सफलता पाउन सकेका छैनन्। उनको करिअर औसत देखिन्छ। डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’सहित ‘म यस्तो गीत गाउँछु’ र ‘शत्रुगते’ सफल बनेपनि ‘जोनी जेन्टलम्यान’, ‘वीर विक्रम २’ र ‘म यस्तो गीत गाउँछु २’ले पलको करिअर ग्राफलाई औसत सावित गरिदिएका छन्।

अनमोल केसी

‘छड्के २’ बक्सअफिसमा डिजास्टर सावित भएपछी अनमोल करिअरको लागि सचेत देखिन्छन। ९ फिल्म मध्ये ५ सुपरहिट, ३ औसत र १ फ्लप दिएका अनमोल ‘फर्की फर्की’ मार्फत रोमान्टिक लभस्टोरी ट्रयाकमा फर्किएका छन्।

‘कृ’, ‘छड्के’को एक्सन अवतार र ‘क्याप्टेन’को खेलाडी भूमिका दर्शकको कम रोजाइमा परेपछि अनमोल पुन: आफ्नो पुरानो छवि मार्फत हल छिर्दैछन्।

नेपाली युवापुस्ताका दर्शकमाँझ सर्वाधिक लोकप्रिय अनमोललाई यसपटक भने सहज छैन। उनले प्रदीप, आर्यन र पलको समुहसंग एकल प्रतिष्पर्धा गर्नु पर्नेछ।

विगतमा अनमोल र प्रदीपको स्टारडमबारे अघोषित प्रतिष्पर्धा हुने गरेतापनि यसपटक बक्सअफिसमा प्रत्यक्ष आमनेसामने हुनेछन। त्यसैले दर्शकपनि ‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई लिएर व्यग्र प्रतिक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्