‘रङ्गेली’को ‘हातैले उघाएर’मा डान्स गर्दा स्मार्टफोन मौका



रंगखबर, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । फिल्मको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

प्रतिस्पर्धामा सहभागी हुने मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्नेछन् । योग्य प्रतिस्पर्धी हुन आफ्नो भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया प्रोफाइल हुनुपर्ने, पोस्टमा ह्यासट्याग दिई #Rangeli #rangelimovie #rangelifalgun25 लेखी रङ्गेली फिल्मको फेसबुक वा इन्स्टाग्राम प्रोफाइल मेन्सन गर्नुपर्नेछ । भिडियो यही माघ २७ गतेसम्ममा पोस्ट गरिसक्नुपर्नेछ । ‘रङ्गेली’को ट्रेलर रिलिज समारोहमा कलाकारहरूको हातबाट विजेतालाई स्मार्टफोन प्रदान गरिने खतिवडाले बताए ।

गत साता रिलिज गरिएको सो गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।

 

प्रतिक्रिया दिनुहोस्