रंगखबर, काठमाडौँ: अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै नेपाली फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । फिल्मको सार तथा पात्र परिचय बुझाउने यस टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको छ ।
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना सहित प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।
यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल फिल्मको डिजिटल वितरक हो ।