‘हाडमासु र खुन–खनिजले बनेको मान्छेलाई
सिसी, कागज र फलामको पिण्डमात्रै देखेपछि
मान्छेलाई मान्छे नदेखेपछि
तिमी पनि त मान्छे रहँदैनौ ’
युवा कवि विनोदविक्रम केसी शनिवार दिउँसो ललितपुरस्थित सातदोबाटोको एउँटा साघुरो कोठामा कोचाकोच भरिएका दर्शकमाझ आयोजित ‘अलग अभियान’ कार्यक्रममा सुनिए । प्रस्तुतिको शुरुवात उनले ‘कबाडखाना’ शिर्षकको कविताबाट गरे । मधेशीलाई काठमाण्डौँ या सत्ताले हेर्ने आधारभुत र झुर दृष्टिकोणप्रति उनको कविता बोलिरहेका थियो । उनको पहिलो कवितामै दर्शक भावुक भइरहेका थिएँ । त्यसपछि उनले सुनाए दोश्रो कविता, ‘कृत्रिमता’ ।
‘कुनै दिन बजारले
उत्पादन गर्नेछ पीडाको केक
र आँशुको मैनबत्ती
अनि जखमी मान्छेले
घाउको जन्मदिवस मनाउने फेशन चल्ने छ’
आधुनिक मान्छेको कृत्रिमताप्रतिको मोहलाई कवितामार्फत उनले व्यंग्य गरेका थिएँ । उनी भन्दै थिए–
‘सबथोक कृत्रिम छन्
प्रेयसीको चुम्बनमा आसक्ति छैन
लिपस्टिकको छापमात्र छ
प्रेमीको अँगालोमा प्रणयको सुवास छैन्
अत्तरको गन्धमात्र छ ’
‘कबाडखाना’ले भावुक बनाएका दर्शकलाई यो कविताले केही रोमाञ्चकता प्रदान गरेजस्तो देखिन्थ्यो । विनोदको तेश्रो कविता ‘अप्ठ्यारो मान्छे’ अझ सशक्त सुनियो :
‘म अप्ठ्यारैअप्ठ्यारोहरुबाट बनेको
अप्ठ्यारो मान्छे हुँ
मैले सजिलो खोजेँ भने
मैले सजिलो रोजेँ भने
मृत्यू हुन्छ एउटा बागीको
बिच्किन्छ एउटा तुफानी यात्रा
दुनियाँ कुरुप बनाउने नियतहरुविरुद्ध चलाउन
बाँकी बच्ने छैन एउटै अस्त्र
समाप्त हुनेछ खराब र असलको भेद’
यो कवितामार्फत उनी सबै मान्छेहरुले खोज्ने सहजताप्रति व्यंग्य गर्दै थिए । ‘सबैलाई सजिलो चाहिएको छ यहाँ’, उनको कविताको निष्कर्ष थियो । तर, कवि आफुलाई सजिलै त केही पनि नचाहिने बताइरहेका थिएँ । कविताको अन्त्यमा उनी भन्दै थिएँ–
‘सजिलै मलाई केही चाहिँदैन
एक दानो अनाज र एक घुट्को पानी चाहिँदैन
जून चाहिँदैन, फूल चाहिँदैन
सजिलै त मलाई कसैको प्रेम पनि चाहिँदैन ।’
कार्यक्रममा कवि विनोदले जम्मा पाँचवटा कविता वाचन गरेका थिएँ । चौथो कविता ‘आज सरको क्लास लिन्छ विद्यार्थी’मार्फत उनले नेपालको सिंगो शिक्षा पद्धतीमाथि कठोर व्यंग्य गरेका थिएँ । कविताको पहिलो हरफ नै यस्तो थियो–
‘बेन्चमै बसिराख्नुस्, उभिनुपर्दैन
खोल्नुपर्दैन किताब
बुझाउनुपर्दैन होमवर्क
बनाउँदिनँ तपाईंलाई मुर्गा म
गराउँदिनँ उठ्बस्
बस्, आज म तपाईंको क्लास लिन्छु सर’
प्रायः धेरैजसो कविता उत्पिडितहरुको पक्षमा लेख्दै आएका विनोदका पाँचैवटा कविताले दर्शकको गड्गडाहट ताली पाएको थियो । चारवटा कविता सुनाएर विश्राम लिन खोजिरहेका उनलाई दर्शकले अन्तिम एउँटा कविता वाचन आग्रह गरेका थिएँ । त्यसपछि उनले सुनाए, ‘भूमण्डलीकरण’ ।
‘अचेल रामप्रसादको घरलाई ढाकिरहन्छ कुहिरोले
अतृप्ति, असन्तोष र रुग्णता मडारिइरहन्छन्
अतीव बेचैन छ रामप्रसादको घर’
‘रामप्रसाद’ भन्ने पात्रको कथालाई निकै रोचक ढंगले कवितामा कविले प्रस्तुत गर्न खोजेको पाइन्थ्यो । उनले कवितामा पुँजीवादका घातक आयामहरु प्रकट गरेका थिएँ । ‘भोकको क्षेत्रफल’ कवितासंग्रह निकालिसकेका कवि विनोदले कार्यक्रममा प्रस्तुत भएका केही कविताहरुमाथि समिक्षा समेत गरेका थिएँ ।
अलग आर्ट हबले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्य र संगीतलाई मिश्रण गरेर आयोजना गर्दै आएको ‘अलग अभियान’को पौष श्रृंखलामा कवि विनोदसँगै संगीतकार तथा गायक केशव पौडलले पनि विशेष प्रस्तुति दिएका थिएँ । कार्यक्रममा उनले ‘थाहा छैन कुन आसमा अडेको छ जीन्दगी’, ‘मधुर मिलनको रहरमा फसे म’ आदि बोलका केही गजल र गीत गाएर माहोललाई मन्त्रमुग्ध पारेका थिएँ । कार्यक्रममा उनले केही नयाँ गायकका गीतमाथि सामान्य समिक्षा समेत गरे ।
कार्यक्रममा संगीतकार पारस मुकारुङ र संगीत प्रशिक्षक मण्डल साम्पाङले पनि आफ्नो नयाँ गीत गाएर सुनाएका थिएँ । गायक तथा संगीतकार रेवत राई वातावरण सम्बन्धी तयार पारिएको ‘हाम्रो सास’बोलको नयाँ गीत प्रस्तुति गरेका थिएँ ।
‘अलग अभियान’का अभियन्ता बबिना राई र नकिमा नकिमले कार्यक्रमलाई चलाएका थिएँ । ‘अलग अभियान’को हरेक श्रृंखलामा इच्छुक जोकोहीले आफ्ना नयाँ सिर्जनाहरु सुनाउन पाउँछन् ।