रंग खबर, काठमाण्डौं । गोपिकृष्ण मुभिजले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की उत्कृष्ट ठहरिएका छन् । शनिवार राजधानीको हायात होटलमा आयोजना गरिएको अवार्ड समारोहमा ‘नोभेम्वर रेन’ चलचित्रबाट ‘शिव’ सर्वोत्कृष्ट अभिनेताको आवार्ड आर्यनले जिते भने चलचित्र सुन्तलीबाट प्रियंकालाई ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिईयो ।
सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा भारतीय गायिका संजिवनी पनि सहभागी भएकी थिईन् । मह जोडी देखि लिएर नेपाली चलचित्रका नयाँ पुराना अधिकांश कलाकारहरुको उपस्थ्तिी रहेको अवार्ड कार्यक्रममा विभिन्न आर्कषक नृत्यसँगै हाँस्यब्यंग्य पनि प्रस्तुत गरिएको थियो ।
ब्ल्याक हर्स पिक्चर्सको फिल्म ‘कबड्डी’ सर्वोउत्कृष्ट ठहरिएको छ रामबाबु गुरुङ यही चलचित्रबाट ‘प्रकाश’ सर्वोउत्कृष्ट निर्देशकको अवार्ड उचाल्न सफल भएका छन् । ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेताको पुरस्कार फिल्म ‘उत्सव’ बाट संजोग कोइरालाले पाए भने ‘चैत्य’ सर्वोउत्कृष्ट नवअभिनेत्रीको पुरस्कार फिल्म ‘आभाष’ बाट आश्मा डिसीले पाइन् ।
त्यस्तै ‘नीर’ सर्वोउत्कृष्ट सहअभिनेता तर्फ अनुप विक्रम शाहीले चलचित्र ‘हँसिया’ बाट पाए भने ‘वसुन्धरा’ सर्वोउत्कृष्ट सहअभिनेत्रीतर्फ फिल्म ‘नोभेम्बर रेन’ बाट छुल्ठिम डोल्मा गुरुङ अवार्ड उचाल्न सफल भईन् । चलचित्र नोभेम्बर रेनबाटै ‘शम्भुजीत’ सर्वोउत्कृष्ट संगीतकारको अवार्ड ताराप्रकास लिम्बुले उचाले भने यसै फिल्मबाट ‘तिमीलाई’ बोलको गीत मार्फत ‘उदित’ सर्वोउत्कृष्ट पाश्र्व गायनको पुरस्कार युवराज चौलागाईंले पाए । चेतन सवोत्कृष्ट लेखनको अवार्ड पनि चलचित्र नोभेम्बर रेनबाटै छेतन गुरुङ्गले पाए ।
‘वसन्त’ सर्वोउत्कृष्ट नृत्य निर्देशकको पुरस्कार फिल्म ‘हवल्दार सुन्तली’ को ‘घण्टी बज्यो’ बाट कविराज गहतराजले पाए भने ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीतको पुरस्कार फिल्म ‘तथास्तु’ बाट रामजी लामिछानेले पाए ।
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकारको अवार्ड ‘जेरी’ चलचित्रबाट शैलेन्द्रध्वज कार्कीले उचाले । ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादकको पुरस्कार भने ‘आभाष’ बाट सुरेन्द्र पौडेललाई दिईएको छ । ‘भुटानी’ सर्वोत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड हकदार भने ‘हँसिया’ बाट राजकुमार उप्रेती बने । ‘प्रदीप’ सर्वोउत्कृष्ट ध्वनी पुनः मुद्रणतर्फ उत्तम न्यौपान फिल्म ‘मुखौटा’ बाट अवार्ड बिजेता बने ।
त्यस्तै ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक फिल्मको अवार्ड ‘कोहिनूर’ लाई दिइयो । ‘मह’ जुरी अवार्ड भने फिल्म ‘माला’ का निर्देशक सन्दिप भूपाल सिंह लाई दिईयो । विजयरत्न तुलाधरलाई ‘पुष्कर’ चलचित्र पत्रकार पुरस्कारबाट सम्मान गरियो ।