जन्मघरबाट बिहे गर्ने धोको अपुरै : सविर श्रेष्ठ



जन्मघरको सम्झना :
sabir shresthaसविर श्रेष्ठ,
फिल्म निर्देशक
वैशाख १२ गते गएको महाभैँचालाले मेरो दुवै घर लग्यो । नुवाकोटको चौघडा–१ मा रहेको जन्मघर र साँखुमा रहेको अर्को घर । त्यती मात्र नभएर मेरो आफ्नै काकाको छोरी र माइला काकाको बुहारी र नातिनीको पनि ज्यान लियो । यसकारण अहिले म शोकमा छु । दुःखी छु ।

जतिबेला मैले जीन्दगीलाई राम्रोसँग बुझ्न सकेको थिइनँ, त्यतीबेला म मेरो जन्मघरमा थिए । मेरो जन्मघरबाटै मैले कखरा सिक्न शुरु गरेको हुँ । आमाबाबुको माया भन्नेवित्तिकै जन्म घर सम्झन्छु । घर पुग्नेबित्तिकै आज पनि म घरमा बसेर साथीभाईसँग भाँडाकुटी खेलेको याद आउँछ । बाल्यकालका धेरै त्यस्ता क्षण छन्, जुन सब घरसँग छन् । मेरो घर भत्किएपनि ती स्मृती भत्किएका छैनन् ।

मेरो जन्मघर बुबाले मिहेनत गरेर बनाएको घर थियो । त्यसैले हामीले त्यो घर बेचेका थिएनौँ । ममी र दाईको परिवार त्यही बस्दै आएका थिए । हुन त त्यो घर ढुगां र माटोले बनेको थियो । भैँचालोका लागि त्यो घर मजबुत थिएन होला तर मेरो लागी सबथोक थियो । त्यो घरसँग जोडिएको एउटा घटना आज पनि म बिर्सन सक्दिन् । ०६४ सालको घटना हो । म फूलपातीको दिन दशै मनाउन घर गएको थिएँ । त्यही दिन मेरो बुबा बित्नुभयो । साह्रै नरमाइलो लागेको थियो । मन धेरै रोएको थियो । त्यही भएर घर पुग्नासाथ आज पनि बुबालाई धेरै ‘मिस’ गर्छु । उहाँले घरमा गर्ने हरेक कृयाकलाप सम्झन्छु ।
sabir shrestha rangakhabarअहिले भत्किएको स्थानमा अब मेरो घर पुनःनिर्माण गर्न मिल्दैन् । त्यहीभएर अलि पर निर्माण गर्नुपर्ने भएको छ । अहिले दाईहरु टहरा बनाएर बसिरहनुभएको छ । हामी दुईजना दाजुबाई र तीनजना दिदीबहिनी छौँ । सबैको त्यही घरबाट बिहे भएको हो । मेरो मात्र हुन बाँकी थियो । मेरो स्वर्गीय बाबुको चाहना पनि त्यही घरबाट बिहे होस् भन्ने थियो । अहिले पनि ममी, दाईहरुको त्यही चाहना छ । मेरो धोको पनि त्यस्तै थियो । तर, जन्मघर नै भत्किएपछि त्यो धोकोको के अर्थ भयो र ?
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्