साउथका द्वन्द निर्देशकले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन



रंगखबर, काठमाडौँ: फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् ।

फिल्मको छायाङ्कन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा भइरहेको छ । फिल्मका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायाङ्कन भइरहेका छन् । समीर भट्ट लगायतका कलाकारहरूका दृश्यहरू अहिले छायाङ्कन भइरहेको छ । मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।

फिल्मको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ । निर्देशक सेनका अनुसार, ‘बलिदान’लाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ । सेनले भने, “कथामा नेपाली फिल्मले धेरै प्रगति गरिसकेको छ । अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने फिल्म बनाउन हामी विशेष ध्यान दिएका छौँ ।”

‘आसुसेन फिल्म्स प्रा.ली.’ र सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह-निर्माताको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्