गजल गीत ‘आँखा भरी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गजल गीत ‘आँखा भरी’ भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा शब्द रचना किरण रिजाल रहेको छ भने स्वर कमल बिस्ट र सङ्गीत शशि विक्रम थापाको रहेको छ ।गायक बिस्ट ‘भ्वाइस अफ नेपाल’ सिजन २ का प्रतिस्पर्धी पनि रहेका थिए ।

गीतमा युवा-युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा एक होटेलमा काम गर्ने युवकले त्यहीँ बस्न आएकी ग्राहकलाई मन पराउँछ, तर गलतफहमीकै कारण उनी मानसिक पीडामा फस्छन् । यो भावनात्मक कथा राज पौडेल र हेना नगरकोटीको प्रभावशाली अभिनयद्वारा जीवन्त भएको छ, जसको निर्देशन नारायण मगरले गरेका छन् ।

सडक नाटकबाट अभिनय सुरु गरेका मोडल पौडेलले एक दशक भन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् भने नगरकोटीले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छन् ।भिडियोका निर्देशक मगरले एक सय भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन र सम्पादन गरेका छन् ।

यस भिडियोका सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सम्पादक तथा रङ्ग संयोजक भीम विश्वकर्मा हुन् । भिडियो उत्पादन तथा वितरण रे अफ आर्ट्सले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्