–विनोदविक्रम केसी
म नब्बे सालपछि जन्मेको मान्छे
मलाई भुइँचालो हेर्ने रहर छ
सायद कवि भूपि शेरचनका पंक्ति हुन् यी। २०७२ साल वैशाख १२ गतेको भुइँचालो …हेर्न’ पाएका भए भूपि आफ्ना पंक्तिप्रति कति खेद प्रकट गर्थे होलान्, म अनुमानसम्म लगाउन सक्दिनँ।
७ दशमलव ६ रेक्टर स्केल। अहिले सारा नेपालीको जिब्रोमा झुन्डिएको त्रासदीपूर्ण गणित हो यो। सिंगो देश शरणार्थी शिविर भएको छ। चौर, खेत, बारी, सडक जहीँतहीँ त्रिपाल गाडिएका छन्। त्रिपालभित्र मान्छेहरू छन्, तर जिन्दगीको लय र रफ्तार छैन। सबै त्रस्त छन्, सबै आतंकित छन्, सबै दुःखी छन्। सरकार कुन मनस्थितिमा छ? त्यो चाहिँ थाहा छैन। किनभने, सरकार छ कि छैन भन्ने नै थाहा छैन। भए पनि त्यो कामचोर कर्मचारी जस्तो हुनुपर्छ। १०–५ को उही परम्परागत, जर्जर रुटिनमा अभ्यस्त! मानौँ, उसलाई यो महाविपत्तिले छोएकै छैन। अफिस जाने, अखबार हेर्ने, चिया–खाजा खाने, यसो फाइल पल्टाउने सामान्य दैनिकीमा कुनै क्रमभंगता नभएजस्तो।
असफलताको पर्याय बनेको सरकार जनतामाथि बजि्रएको यो महावज्रपातमा पनि लगभग अदृश्य छ। राजनीतिक दलहरू पनि लगभग मृत छन्। राजनीतिकै मृत्यु भएको प्रतीत हुन्छ। कुनै नेता जनताका साथमा देखिँदैनन्। कोही अगुवा देखिँदैनन्।
यस्तो महाभूकम्पपछिको विपद् व्यवस्थापनमा राज्यको अनुभवहीनता एक हदसम्म क्षम्य होला तर संवेदनहीनता कुनै पनि हालतमा क्षम्य हुन सक्दैन। महाभूकम्प गएको छ घण्टापछिमात्र मन्त्री परिषद्को आकस्मिक बैठक बस्यो। सरकारको नालायकीका लागि अब अर्काे प्रमाण के जुटाउनुपर्छ? यस्तो लाग्छ– जहीँतहीँ चुक्नु राज्यको विशेषता भएको छ। जाजरकोट महामारीले राज्यको अनुहारमा लगाइदिएको नालायकीको पोतोको रङ अलिकति पनि खुइलिन पाएको थिएन। त्यसमाथि यो महाविपत्ति! राज्यले जेजस्तो बेहोरा देखाउँदै छ, त्यसले उसको अनुहार झन् झन् कुरूप, झन् झन् भयानक र झन् झन् क्रूर बनाउँदै लगिरहेको छ। यो गाली पुराण होइन। तर, राज्यलाई भन्नका निम्ति यो देशका मान्छेसँग अहिले ‘नालायक’ भन्ने शब्द बाहेक केही छैन, राज्यलाई दिनका निम्ति यो देशका मान्छेसँग अहिले गालीसिवाय केही छैन। यो क्रूरतम यथार्थ हो।
उड्न त उडिरहेका छन्, हेलिकप्टरहरू, ठूलठूला विमानहरू। तर, जनताको पोल्टोमा एक पोको राहत सामग्री परेको छैन। त्रिपाल लुटालुटका खबरहरू आइरहेका छन्। देशको …सिस्टम’ले काम नगरेपछि हताश नागरिकले गरोस् पनि के? उद्धार, राहत सबथोक केन्द्रित काठमाडौँको हविगत त यस्तो दुर्दान्त छ भने बाहिर जिल्लातिर, दुर्गम गाउँबस्तीतिर के होला?
हो, दिनरात उडिरहेका छन् विमानहरू। संकटग्रस्त, विपत्ग्रस्त मुलुकका आकाशमा उड्ने हेलिकप्टर, विमान र ड्रोनहरूको नियत सफा हुन्छ पनि भन्न सकिन्न। विमानले उद्धारकर्मीसँगै जासुस बोकिरहेको हुन सक्छ। संकटग्रस्त देशको झण्डा नै निलिदिने अश्लील र कलुषित चरित्र भएका ठालु देशहरूका निम्ति महाविपत्ति चलखेलका लागि महामौका पनि हो।
‘साम्यवादी’ भुइँचालो
टुँडिखेलको एउटा त्रिपालमा यो पंक्तिकार छिरेको थियो। बिजोगको सर्भे गर्न हिँडेको होइन। पत्रकारिताको धर्म निर्वाह गर्न हिँडेको पनि होइन। यसै छिरेको। त्रिपालमा एक समूह गफ गरिरहेको थियो। एउटा दुःखी भन्दै थियो, ‘भुइँचालो त साम्यवादी हुँदो रहेछ। यसले सबैलाई सम्म बनाइदियो। धनी–गरिब, हाकिम–पियन, महिला–पुरुष, बाहुन–कामी सबैलाई बराबर बनाइदियो।’ त्यसपछि ऊ जोडजोडले हाँसेको थियो।
अर्काे त्रिपालमा जर्मन सेफर्ड जातका दुइटा कुुकुर आराम फर्माइरहेका थिए। बच्चाबच्ची अजंगका ती प्राणीलाई धेरै भय र थोरै उत्सुकताले नियालेर घेरिरहेका थिए।
तमाखु खाइरहेको घर
पंक्तिकार आफ्नो गृहग्राम चाल्नाखेलको बोसन भन्ने ठाउँमा पुगेको थियो। यहाँ अधिकांश घर ढुंगाले बनेका छन्। छन् पनि के भन्नु र? थिए भन्नुपर्छ अब। प्रायः सबै घर ढलेका छन्। घर ढलेपछि त्यो एउटा ढिस्कोमात्र बाँकी रहन्छ। बाँकी रहन्छन्– घरलाई आफ्नो भन्नेहरूका चोट र एउटा विशाल रित्तोपन।
नेपाली मनोविज्ञानमा घर स्वामित्वको प्रतीक हो, न्यानोपनको प्रतीक हो, परिवारको मियोको प्रतीक हो। हुन त यो पुरुषार्थको पनि प्रतीक हो। तर, ढुंगा र माटोले बनेको कच्ची घरले त्यो प्रतीकको बोझ धान्न सक्दैन। यो धर्तीमा गरिबका लागि आफ्नो भन्ने कुनै प्यारो चिज हुन्छ भने सम्भवतः त्यो घर नै हुनुपर्छ। संसारमा घर नभएका मान्छे करोडौँ छन्। घर नहुनु पीडादायी हुन्छ। अझ भएको घर भत्किएर नरहनु झन् पीडादायी हुन्छ।
बोसनका सबै घर भत्किएका छन्। मान्छेहरू बारीका पाटामा रात काटिरहेका छन्। कुनै घर थ्याच्च बसेका छन्, दिनभरिको मजदुरीपछि घर फर्किएको मजदुर बसेजस्तो। कुनै घरको एक पाखो झरेको छ। कुनै घर चिरैचिरा परेका छन्।
एउटा भत्किएको घरमा धुवाँ आइरहेको थियो। एकजना किशोरले त्यो घर मलाई देखाउँदै भन्यो, ‘त्यो घरले तमाखु खाइरहेको छ।’
हजासुहरू
टुँडिखेलकै एक त्रिपालमुनि मैले पहिलोपटक सुनेँ– …हजासु’ भन्ने शब्द। बजासु (बढ्ता जान्नेसुन्ने) र अजासु (अति जान्नेसुन्ने) शब्द चल्तीमा आएको धेरै भइसक्यो। यो हजासु चाहिँ नितान्त नौलो थियो। विपद्ले जन्माएको शब्द थियो यो। हजासु अर्थात् हदै जान्नेसुन्ने।
बजासु, अजासु र हजासुको काम हो– त्रास फैलाइदिनु। उनीहरू सबै ‘रे खबरीलाल’ पनि हुन्। उनीहरूका हरेक खबरका पछाडि ‘रे’ हुन्छन्। जस्तोः यति बजेर यति मिनेट जाँदा १० रेक्टर स्केलको भुइँचालो आउँछ रे। खै कता हो, ज्वालामुखी फुट्यो रे। अब हैजा फैलिन्छ रे। टुँडिखेलमा स्वाइनफ्लू देखियो रे।
रे…रे…रे…। धर्तीमुन्तिर चलिरहेको तरंगले भन्दा ‘रे’ले बढी त्रास फैलाउँछ। मृत्युलाई एकदमै निकटबाट देखेकाहरूलाई भयभीत पार्न एउटै ‘रे’ पर्याप्त हुन्छ।
भुइँचालो हेर्न चाहने उनै भूपि भन्थे– ‘यो हल्लैहल्लाको देश हो’। यो महाभुइँचालोमा यो चाहिँ सिद्ध भएको छ, ‘टेक्निकल्ली’ र ‘प्य्राक्टिकल्ली!’
लुटेरालाई खुँदो
सोमवार बल्खुमा महाविपत्तिका कारण केही लुटेरालाई खुँदो पल्टिएको थियो। उनीहरू काठमाडौँबाहिर आफ्ना घर (यद्यपि घर बाँकी थिएन) जान छटपटाइरहेका यात्रुहरूलाई लुटिरहेका थिए। अरू बेला छ/सात रुपैयाँ भाडा तिरेर घर जानेहरू २५ सयसम्म रुपैयाँ तिरिरहेका थिए। पछि, ट्राफिक प्रहरीले केही लुटेराको सातो खाइदिएपछि त्यो आकस्मिक भाडा दर कम भएको थियो।
चाबहिलमा एक कप चियालाई ५० रुपैयाँ ठटाउने व्यापारी पनि भेटिएको थियो। उसलाई केही मान्छेहरूले झण्डै धुलोपिठो बनाइदिएका थिए।
फुटपाथ पसलेहरूको इमानदारी र मानवीय भावनाको भने जति कदर गरे पनि कम हुन्छ। उनीहरूले अरू बेला १५ रुपैयाँ पर्ने चियालाई १५ रुपैयाँमै बेचेको देखियो। हुन त यो वर्ग कहिल्यै कसैलाई लुट्ने ध्येयमा हुँदैन।
एक टुक्रो धरहरा
‘ठूलो भुइँचालो त जाओस्, काठमाडौँ चकनाचुर हुन्छ’– यसै भन्थे मान्छेहरू। नभन्दै काठमाडौँले आफ्ना प्रमुख धरोहर गुमाएको छ। धरहराले भुइँमा च्यापु जोतेको छ। वसन्तपुर दरबार स्क्वायर ध्वस्त भएको छ। ऐतिहासिक, पुरातात्विक संरचनाका भग्नावशेषले काठमाडौँ विरक्तलाग्दो देखिएको छ।
तर, धरोहर प्रमुख कुरो होइन। मान्छे हो प्रमुख।
ढलेको धरहरामा सेल्फी लिनेहरूको भीड थियो। एकजनाले एउटा इँटा टिपेर भन्यो, ‘यसमा १९९१ लेखिएको छ। एक टुक्रो धरहरा त राख्नैपर्छ। भोलिपर्सि छोरानातिलाई देखाउनुपर्छ।’ त्यसपछि उसले झोलामा इँटा हाल्यो। थुप्रै मन्दिर भत्किएका छन्। आर्मी हेडक्वार्टरको चौरमा खडा भएको एउटा त्रिपालमुनि बसिरहेका एक वृद्ध भन्दै थिए, ‘देउतैको त घर रहेन भने हामी मान्छेको घर के रहोस्?’
ज्याद्रो जात हो नेपाली
यो महाविपत्तिमा नेपाली जनताले सद्भाव र सामूहिकताको अनुपम उदाहरण प्रस्तुत गर्यो। हरेक पालमा जोसुकै पीडित गएर बस्न सक्छ। एक फाँको चिउरा वा चाउचाउ भए पनि दोस्रो व्यक्तिलाई दिऊँ न भन्ने दुःखीहरूको उदारतालाई बयान गर्न सकिन्न।
लेखक कृष्णज्वाला देवकोटाले कतै भनेका छन्, ‘विज्ञानले अनुमति दिने भए नेपालीहरूको रगतमा पनि राजनीतिक पार्टी हुन्थ्यो।’ राजनीतिले विभाजित नेपाली समाजको तस्बिरमाथि यो उनको सटिक ‘क्याप्सन’ थियो। तर, यो महाविपत्तिमा नेपाली जनता अभूतपूर्व ढंगले एकताबद्ध छ।
नेपाली अहिले मुटु नै फुट्ने पीडामा छन्। सर्वस्व गुमाएर बाँच्नुको पीडा छ। तर, ज्याद्रो जात हो नेपाली। यो बहत्तर सालमा आइलागेको नब्बे साल भाग–२ ले पनि नेपालीको त्यही ज्याद्रोपनको परीक्षा लिएको छ। र, नेपाली निःसन्देह खरो उत्रनेछ।
साभार : शुक्रवार साप्ताहिक