‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ रिलिज



रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत रिलिज गरिएको छ।  यस अघि फिल्मका कलाकारहरुको क्यारेक्टर लूक्स सार्वजनिक गरेर चर्चामा रहेको फिल्मको अब भने पहिलो पटक भिडियो सामाग्री रिलिज गरिएको हो।  सार्वजनिक  ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ बोलको डान्सिङ नम्बरमा निर्मात्री अभिनेत्री नीता ढुङ्गाना केन्द्रमा छिन् । नीतालाई अभिनेता हरिहर अधिकारीले साथ दिएका छन् ।

गीतको भिडियोलाई उत्कृष्ट सेटमा छायांकन गरिएको छ । वलिउड कोरियोग्राफर सुष्मा सोनमले नृत्य निर्देशन गरेको गीत ‘हाइ मेकिङ’मा तयार पारिएको भान भिडियोले दिन्छ । वलिउड स्टार रणविर सिंहदेखि वरुण धवन र साउथ स्टार यसलाई निर्देशन गरिसकेकी सुष्माले भिडियोमा नीतालाई आकर्षक रूपमा चित्रण गरेकी छन् ।

दुर्गेश थापाको शब्द, संगीत र एरेञ्जमा तयार गीतको अडियो मेला महोत्सवदेखि चाडपर्व सबैतीर स्थान पाउने प्रकारको सुनिन्छ । गीतमा स्वर दुर्गेशसँगै गायिका सदिक्षा कट्टेलको छ । अडियोमा गायिका कट्टेल केन्द्रमा छिन् । वलिउड छायांकार कबिरलालले खिचेको उक्त गीतमा सम्पादन मित्र डि गुरुङको छ ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्