‘के घर के डेराः घर नम्बर २’मा केकी र उपासनाको प्रवेश



रंगखबर, काठमाडौँ: साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।

यो फिल्मको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । अब, फिल्मका लागि मुख्य दुई नायिका पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।

केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । यस्तै, उपासनाले फिल्म ‘खुस्मा’को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् । योसँगै फिल्ममा मुख्य कलाकारहरुको लाइनअप बलियो बनेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको कथा वुद्दिसागरले लेखेका हुन् । फिल्मको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको भनाई छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । फिल्मलाई यही बर्ष नै रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्