‘दान्भी’को प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’ – पूजा शर्मा



रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् ।

यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ । सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले दान्भी गरेकी हुँ । यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । ममा एक्सनको ज्ञान शुन्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो’, पुजा भन्छिन् ।

पुजाले एक्सन फिल्मबारे जे सोचेकी थिइन्, त्यो भन्दा धेरै गाह्रो अनुभव उनलाई ‘दान्भी’मा भएको छ । उनको बुझाईमा अहिलेसम्म गाह्रो र मेहनत गरेको फिल्म उनका लागि ‘दान्भी’ नै हो ।

‘यो एक्सन फिल्म नै हो । फिल्म हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ । हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ । एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन् ।

पुजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित छिन् । उनको बुझाईमा रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई देखाएका छैनन् । ‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । किनभने एउटा केटीले एक्सन गरिरहेको छ, त्यसले मान्छेलाई नोटिस गरेको रहेछ’, पुजाको दाबी छ ।

पुजाका अनुसार उनलाई ‘दान्भी’को एक्सन पाटोले मात्र फिल्ममा काम गर्न प्रेरित गरेको रहेछ । यो फिल्म लभस्टोरी फ्लेभरको भए म गर्दिन थिएँ । सुरुमा ठूला कलाकार ल्याएर गेष्ट अपेरियन्समा एक्सन गर्ने भन्ने थियो । तर म आफैंले गर्ने निर्णय लिएँ । किनभने दर्शकले विराज दाईदेखि अन्य अभिनेताको एक्सन हेरिसकेका छन् । त्यसकारण विराज दाई भन्दा पनि केटीले नै गरौं न भन्ने भयो र मैले गर्ने निर्णय लिएँ । निर्देशकले पनि केटीले नै एक्सन गर्नुपर्छ भन्ने भएपछि कुरा मिल्यो’, पुजा भन्छिन् ।

उनले फिल्मका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गरिन् । उनका अनुसार उनले फिल्मका लागि सुटिङ स्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहिन् ।

फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि विशेषत उनको एक्सन अवतारको जति तारिफ भयो, आलोचना अथवा खिसिट्युरी पनि उत्तिकै भयो । आफ्नो कामले आलोचना पाउँदा उनी केही दुःखी पनि बनिन् । ‘यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला । नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो । तर एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनें । मैले गन बोकेको छु, म गनसँग डराउने होइन नि त खासमा । मैले अरुलाई हानेको छु । म गनसँग इजी हुनु हो नि । तर मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन छैन मात्र भने’, पुजाको बुझाई छ ।

भविष्यमा पनि एक्सन फिल्ममा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिज पछिको प्रतिक्रियाले टुंगो लगाउने पुजाको बुझाई छ । ‘मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु । अहिले मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’, उनी भन्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्