‘छड्के २.०’ लाई रिलिज अघिनै सफलता, जापानका १२ शहरमा बिक्री



रंगखबर, काठमाडौँ: रिलिज अघिनै अनमोल केसी स्टारर फिल्म ‘छड्के २.०’ ले सफलता प्राप्त गरेको छ। हुन त रिलिज डेट आउन करिब डेढ महिना मात्र बाँकी छ। तर त्यस अघिनै फिल्म जापानको १२ वटा मुख्य शहरमा बिक्री भएको जानकारी प्राप्त भएको छ। फिल्मलाई नमस्ते टोक्योले जापान प्रदर्शनको अधिकार खरिद गरेको हो। मार्च ५ तारिखबाट जापानको नाकानो जेरो हलबाट प्रदर्शन सुरु हुने फिल्म चिओजि, निगाताकेन, तोचिगीमा, सेन्दाई, चिवा, सिजोउका, नागोया, ओसाका, कोबे, फुकुयमा, फुकुओका, ओकिनावा लगायतका एक दर्जन बढि शहरमा प्रदर्शन हुने जानकारी नमस्ते टोक्योका सञ्चालक सचिन आचार्यले दिएका छन।

पोस्टर रिलिज देखिनै अभिनेता अनमोल केसीको लूक्सलाई लिएर चर्चामा रहेको फिल्म बर्षकै प्रतिक्षित फिल्महरुको लिस्टमा छ। प्राय: लभर व्वायको भूमिकामा देखिंदै आएका उनि ‘छड्के २.०’ मा ग्याङ्गस्टरको भूमिकामा देखिदैछन। अनमोलसंगै फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल सिर्जना सुब्बा, रेशा आले मगरको मुख्य भूमिका रहेको छ।

 

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता  रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । फिल्म फागुन १९ गतेबाट प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्