नेपाली सिनेमाको अमेरिकी बजार : छलफल र यस्तो निष्कर्ष



विकास राज न्यौपाने, अमेरिका – वर्षेनी बग्रेल्ती उत्पादन भए पनि नेपाली सिनेमाले  आफ्नो स्तर उकास्न सकिरहेको छैन । हजारौँको संख्यामा पुगिसक्दा पनि अन्तर्राष्ट्रिय स्तरको एउटै सिनेमा बनेको  पाइँदैन । हिन्दी सिनेमाको सिको गरेर सुरु भएको र अध्यावधि सोही परम्परा धानिरहेको नेपाली सिनेमा हिन्दी  सिनेमाको तुलनामा समेत कताकता पछाडि छ । यसको कारण के हो हामी किन पछाडि परिरहेका छौँ ? सिनेमा व्यवसायमा लागि परेकाहरुले सोच्नुपर्ने विषय हो यो ।  सोच, सीप, श्रम वा कलाकारिताको कमी हो अथवा यसका अन्य कारण  पनि छन् ? निदान र उपचारको खाँचो भइसकेको छ । पछिल्लो समयका केही नेपाली सिनेमालाई हेर्दा स्थिति साह्रै निरासाजनक पनि छैन ।

MEETING-1

नयाँ आएका सिनेकर्मीहरुले सम्भावनाका  लक्षणहरु देखाएका छन् । प्राविधिक पक्षमा राम्रो प्रगति भएको देखिन्छ । कलाकारिताको फाँटमा  पनि आसलाग्दा अनुहारहरु देखापरेका छन् । अधिकांश सिनेमाहरु औसतको स्तरबाट झनझन तल झर्दै गइरहेको अवस्थामा पनि एक दुई सिनेमा र सिनेकर्मीको स्तरभने माथि उठेको पाइन्छ । तिनले पाएको व्यावसायिक सफलताले पनि केही हौसाएकै छ । केही  नयाँ गर्ने सोच र त्यसका लागि परिश्रम गर्ने प्रवृत्ति देखापर्न थालेको छ । आजको नेपाली सिनेमा टड्कारो रूपमा नै राम्रा र नराम्रा दुई पाटामा छुट्टिन थालेका छन् । यतिखेर खाँचो छ – राम्राहरुको संरक्षण र सम्वर्द्धन । अझ राम्रो गर्नका लागि व्यवस्थापन । यहाँनेर राम्रो गर्न खोज्ने सिनेकर्मीहरु एकमत छन् कि हाम्रो व्यवस्थापन पक्ष फितलो छ । सिने व्यवसायका सबै पाटाहरुमा व्यवस्थापनको कमी छ । निर्माण, वितरण र प्रदर्शन तीनैवटा पक्षमा हाम्रो सिनेकर्म कमजोर छ. राम्रो निर्माण गर्नेहरुले पनि राम्रो व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

बलियो बजार व्यवस्था नभएसम्म बलियो आर्थिक उपलब्धि हुन सक्दैन । बलियो आर्थिक उपलब्धि हुने सम्भावना नभएसम्म बलियो आर्थिक श्रोत जुट्दैन । यही नै त्यो आधारभूत कुरा हो जसको अभावमा राम्रो गर्न खोज्नेहरुले पनि राम्रो प्रतिफल दिन सकिरहेका छैनन् । मुलुकभित्रको सानो बजारले मात्रै नेपाली सिनेमालाई उकास्न सक्दैन । विश्व बजारमा नेपाली सिनेमालाई पुर्याउनै पर्छ । कम्तीमा संसारभरि छरिएका नेपाली भाषीहरुसम्म मात्रै भए पनि नेपाली सिनेमाको पहुँच पुर्‍याउनु पर्छ । यसका लागि गतिलो उत्पादन, गतिलो प्रवर्द्धन र गतिलो प्रदर्शन एकमात्र सूत्र हो । यही निष्कर्ष थियो – केही समय अघि डयालस आउनुभएका नेपाली सिनेकर्मी भाष्कर ढुंगानाको ।

“राम्रो विषयवस्तुमा राम्रो ढंगले सिनेमा बनाउन राम्रो लगानी चाहिन्छ । र, त्यो लगानी अन्तर्राष्ट्रिय बजारबाट मात्र उठ्न सम्भव छ । त्यसका लागि प्रतिस्पर्धात्मक रूपमा दर्शकलाई आकर्षित गर्न सक्ने सिनेमा बन्नुपर्छ । योजनाबद्ध रूपमा प्रचारप्रसार गरिनुपर्छ । र, उच्च प्रविधि सम्पन्न आधुनिक प्रेक्षालयमा प्रदर्शन गरिनुपर्छ ।”  यसका लागि बजार खोज्दै र व्यवस्थापनको तयारी गर्दै भाष्कर ढुंगाना दुई साता अमेरिका घुम्नुभयो । उहाँले यस सन्दर्भमा अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई भेट्नुभयो र संभाव्यता अध्ययन गर्नुभयो । भ्रमणको अन्त्यमा डयालस, टेक्सस आइपुग्दा उहाँ निकै उत्साहित हुनुहुन्थ्यो ।

डयालसबाट फर्किंदा उहाँले थप ऊर्जा संग्रहित गरेको देखिन्थ्यो । डयालसमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले स्थानीय व्यवसायी एवम् नेपाली समाजका अगुवाहरुसँग विचार विमर्श गर्नुभयो । सबैले उहाँलाई सक्दो सहयोग गर्ने आश्वासनमात्र दिएनन्, आफूहरु संलग्न हुने भर पनि दिए । नेपाली समाज टेक्ससका पूर्व अध्यक्षहरु गौरी जोशी, वैकुण्ठ थापा, राम सी पोखरेल, वेस्ट टेक्ससका हरिबोल भण्डारीले भाष्कर ढुंगानालाई परिपक्व योजना तयार पार्न अनुरोध गर्दै आफूहरु लगानी गर्नसमेत इच्छुक रहेको बताए ।

MEETING-2

कार्यक्रममा अमृत सापकोटा, भरत अर्याल,  नेपाल अमेरिका पत्रकार संघका (नेजा) क्षेत्रिय संयोजक विकासराज न्यौपाने लगायत नेपाली सिने क्षेत्रका मुकुन्द ढुंगाना र शैलेश आचार्यको समेत उपस्थिति थियो । व्यवस्थित रूपमा अमेरिकाव्यापी नेपाली सिनेमाको प्रदर्शन प्रबन्ध मिलाउने तयारी गर्ने निर्णय गरेको सो जमघटमा प्रयोगका रूपमा भाष्कर ढुंगाना द्वारा निर्देशित ‘सुन्तली’को प्रदर्शन गर्ने सल्लाह भयो ।  प्रियंका कार्की, सूर्यमाला खनाल, अर्पण थापा, कर्मा, प्रमोद अग्रहरि अभिनित सुन्तली ११० मिनेट लामो नेपाली कथानक चलचित्र हो , जसमा अंग्रेजी सव टाइटलसमेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्