२५ वर्षपछि डेब्यु गरेको ‘नरसिंहाः अवतार’मा उषाको यस्तो लूक्स



रंगखबर, काठमाडौँ: सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले फिल्ममा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले फिल्ममा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।


फिल्ममा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, यसको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ ।

सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।

यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, फिल्ममा उनी नायक राजेश हमालको जोडीको रुपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।

उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, फिल्ममा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्