पल शाहको ‘महाराजधिराज’को फस्टलुक पोस्टरले जगायो कौतुहलता



रंगखबर, काठमाडौँ: अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले माघे संक्रान्तिको शुभकामना सहित दर्शकसामु फिल्मको पोस्टर रिलिज गरेको हो।

‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ भन्ने स्लोगनका साथ सार्वजनिक भएको पोस्टरमा पललाई दुई भिन्न रुपमा देख्न सकिन्छ। उनि पहिलो रुपमा राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् ।

विराज बिस्टको निर्देशनमा बन्ने फिल्मको पोस्टरले अहिले आम दर्शकमाझ उत्सुकता जगाउन थालिसकेको छ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।

निर्देशक बिस्टले पोस्टर सार्वजनिक गर्दै फिल्म लिएर आउँदो बडादशैँमा भेट्ने बाचा गरेका छन्।  जसको मतलब फिल्म आउँदो २०८२ सालको बडादशैंको अवसरमा रिलिज हुनेछ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 
‘अनेकौं समस्या म देख्छु जगतमा,
छ कि दोष हाम्रो यो आफ्नै रगतमा।’
‘आजको दिन मेरो लागि विशेष छ । म मेरो दोस्रो चलचित्र “महाराजधिराज” को पहिलो झलक सार्वजनिक गर्दैछु।

मेरो अघिल्लो चलचित्रले म प्रति थोरै भए पनि तपाईंहरूको माया र विश्वास देखाएको थियो । यसले मलाई यो नयाँ यात्रा सुरु गर्न प्रेरित गर्‍यो । म र मेरो टिम फेरि एउटा गहिरो कथा पस्किने प्रयास गर्दैछौं, जसले तपाईंहरूको हृदयको गहिराइसम्म छुनेछ।

भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न ।
यो चलचित्र केवल एउटा कथा होइन । यो त बाँचेर पनि पटक-पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो । संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो । यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।

धेरै तयारीपछि अन्ततः यो यात्रा सुरु भएको छ। तपाईं सबैलाई यस यात्रामा सामेल हुन विनम्र निमन्त्रणा गर्दछु। तपाईंहरूको माया, साथ र प्रेरणाले हाम्रो यस यात्रालाई सार्थक बनाउनेछ। तपाईंहरूको साथको आवश्यकता पहिलेभन्दा अझै अझ बढी छ । वर्ष 2082 को बडादशैंमा भेट्ने वाचा सहित…’
महाराजधिराज

प्रतिक्रिया दिनुहोस्