फागुन २३ मा पुग्यो ‘होस्टेल ३’



रंगखबर, काठमाडौँ: नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान कँडेलले बताए ।

चलचित्रको पहिलो झलक देखाउने पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ, जसले चलचित्र हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ । पोस्टरमा चलचित्रमा प्रमुख पुरुष पात्रहरूले बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ । यी चार मुख्य पात्रहरू – आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङ हुन् । राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन् ।

पात्रहरूको हास्यजन्य शैलीले चलचित्रको कथावस्तु रमाइलो र जीवन्त हुने सङ्केत गर्छ । ‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् ।कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ ।  यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण चलचित्र बन्ने विश्वास लिइएको छ । यसमा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको रहेको छ । विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

प्रतिक्रिया दिनुहोस्