‘परालको आगो’ साईन गरेपछि सुहनाले के भनिन ?



रंगखबर, काठमाडौँ:  कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें’, सुहानाले भनिन् ।
उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुशीको कुरा रहेको बताइन् । ‘सुशील अंकलसँग सहकार्य गर्न पाउनु मेरो लागि अझ खुशीको कुरा हो’, उनले भनिन् ।

निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्