चर्चामा जितु र नीतिको जोडी



रंगखबर, काठमाडौँ: वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । फिल्मको हालै सार्वजनिक फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो ।

त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै फिल्मको चर्चा थप चुलिएको छ ।

फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । “पोस्टर र टिजरले फिल्मको हाइप क्रिएट गरेको थियो,” उनले भने, “कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत फिल्मको माग बढिरहेको छ ।”

उनले विदेशमा र नेपालमा फिल्म एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए ।

फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । फिल्मले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए ।

‘ज्वाइँ साब’ रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, शिवु पाण्डे, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन् । संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ । एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन् । फिल्मको सम्पादन सन्देश शाहले गरेका छन् ।

‘ज्वाइँ साब’को प्रचारप्रसारदेखि लिएर विदेशी बजारमा यसको मागले फिल्मलाई अझै व्यापक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्