एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को आवेदन खुला



रंगखबर, काठमाडौँ: विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ ।

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो ।

तिनै तहका सरकारहरुसंग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।

‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उदेश्य अनुरुप प्रस्तुत गरिएको छ।

कृषक र कृषि प्रविधिक यस शो मा प्रतियोगी रहने छन् जस्मा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने हो ।
‘समृद्धि को लागी नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृङ्खलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महा-नगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्