दोश्रो सातामा ‘उपहार’ र ‘रङ्गेली’



रंगखबर, काठमाडौँ: गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका फिल्महरु ‘उपहार’  र रङ्गेली दोस्रो सातामा प्रवेश गरेका छन । दोस्रो सातामा पनि फिल्महरुले दर्शकको अभाव भोग्नु परेको छैन । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि दुवै फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेका हुन्  ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । यस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

त्यसै गरि अर्जुन सुबेदी निर्देशित फिल्म ‘रङ्गेली’मा पनि दर्शक बढिरहेका छन।  पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीले पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश शोहरुमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको बताए ।

रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र ‘रङ्गेली’को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक सुवेदीले बताए । यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको उनले बताए । यो चलचित्रका निर्देशक सुवेदी नेपाली चलचित्रका ओभरसिज वितरक समेत हुन् ।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दै छन् ।  त्यस्तै मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ले रिलिज गर्दैछन् ।

दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै ‘इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस्