२१ मिनेट चप गरियो ‘रङ्गेली’



रंगखबर, काठमाडौँ: शुक्रवार रिलिज भई सफलताका साथ देशभर चलिरहेको फिल्म ‘रङ्गेली’को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्म लम्बाई घटाइएको बताए । “दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ”, निर्देशक सुवेदीले भने, “हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा फिल्मको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको फिल्म हलमा आएको छ ।”

पहिलो पटक फिल्म निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने फिल्म हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, “मैले पहिलो पटक फिल्म बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त फिल्म बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।”

रिलिजको पहिलो र दोस्रो दिन ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो । तेस्रो दिन सोमबार पनि फिल्मको व्यापार सन्तोषजनक नै रहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । फिल्मको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस्