‘परदेशी–२’को ‘हिजो काम…’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक



रंगखबर, काठमाडौँ:  नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा वाचन गरेको छ । सार्वजनिक गीतलाई सतिश चापागाईँले रचना गरेका हुन् । फिल्मका अभिनेता समेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । केही मनछुने संवादसमेत गीतमा समावेश छन् । गीतको भिडियोमा प्रकाश सपूत र दीलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । गीतकार रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत फिल्ममा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्