ह्यारी कि प्यारीको प्रिमियर सम्पन्न, जितु र साम्राज्ञीको तारिफ



रंगखबर, काठमाडौँ:आउँदो शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ह्यारी कि प्यारी’को भव्य प्रिमियर सम्पन्न भएको छ।  बुधबार राजधानीको सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा भएको प्रिमियर शोमा फिल्मका कलाकार तथा निर्माण टिमलाई बधाई दिन सेलिब्रेटीहरुको लर्को लागेको थियो। फिल्म सुरु हुनु अगाडी नै पुगेका कयौँ सेलिब्रेटीहरु हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी हेर्नलाई उत्साहित देखिएका थिए। दुई वटा हल बुक गरेर पत्रकार र कलाकारहरुलाई बोलाईएको उक्त प्रिमियर शोमा दुवै हल हाउसफुल देखिएको थियो।

प्रिमियर पछि सबै कलाकारहरुले जितु र साम्राज्ञीको अभिनयलाई खुलेर तारिफ गरेका थिए। दिपक दिपा तथा केदार घिमिरेले अभिनेता जितुको खुलेरै तारिफ गर्दै फिल्ममा उठाईएको मुद्धाले आम दर्शकलाई जोड्ने सम्म भन्न भ्याए। प्रिमियरमा नर्भस देखेका जितुलाई दिपक दिपाले अंगालो हाल्दै प्रोत्साहन गर्दा जितु नेपाल भक्कानिएका पनि थिए। उता निर्देशक डा. कपिल रिजाल भने हरेकको प्रशंसा सुनेर दङ्ग देखिएका थिए।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मले आम दर्शकलाई भने रिझाउन सक्ला या नसक्ला त्यो भने शुक्रबार पछिनै थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्