परिवर्तन नेपालद्वारा चलचित्रकर्मीहरुलाई सम्मान प्रदान



रंगखबर, काठमाडौँ – यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई प्रदान गरिएको छ ।

परिवर्तन नेपालले बुधबार राजधानीमा आयोजना गरेको सम्मान समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्राविधिक/कलाकार मनोज केसी र अभिनेता विनोद श्रेष्ठ प्रदान गरियो ।

हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा चेतन कार्की स्मृति पुरस्कारबाट अभिनेता देशभक्त खनाललाई सम्मान गरियो । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान प्रदान गरियो ।

सम्मान अन्तर्गत हरितारा पुरस्कारको राशी २५ हजार, दुर्गादेवी पुण्य निरौला पुरस्कारको राशी १० हजार र चेतन कार्की स्मृति पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।

उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री/निर्देशक रेखा थापा, निर्देशक दीपाश्री निरौला, अभिनेत्री रेजिना उप्रेती, निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व. चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की, सावित्री कोइरालाले सर्जकहरुलाई सम्मान समर्पण गरेका थिए ।

वि.सं. २०५२ सालमा स्व. विजय राणाले स्थापना गरेको हरितारा चलचित्र पुरस्कारलाई नेपाल कै पहिलो चलचित्र पुरस्कार मानिन्छ ।

फिल्म क्षेत्रमा योगदान पुर्‍याएबापत निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान दिइएको थियो ।

हाल पुरस्कारको संरक्षक र अध्यक्षमा मनोज शमशेर ज.ब.रा. रहेका छन् । भने, सदस्य सचिव पदमा मोहन निरौला छन् ।

प्रतिक्रिया दिनुहोस्