फुटबलर एन्जिलाको जीवनीमा फिल्म घोषणा



रंगखबर, काठमाडौँ – मिलन चाम्सले नयाँ नेपाली फिल्म ‘अन्जिला’ निर्देशनको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा एक प्रेसमिट आयोजना गर्दै स्पोर्ट ड्रामाको बारेमा जानकारी दिए ।

उनले महिला राष्ट्रिय टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित भएर ‘अन्जिला’ निर्देशन गर्न लागेका हुन् ।

यम थापाले लेखेको कथामा एन्जिला आफैले आफ्नो भूमिका निर्वाह गर्नेछिन । उनिसँगै फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायतले अभिनय गर्नेछन् ।

निर्देशक चाम्सले फिल्ममा एन्जिलाले फुटबलर बन्नलाई गर्नु परेको संघर्ष र सफलताको कथा भनिने जानकारी दिए ।

‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडी एन्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई फिल्ममा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ ।’ चाम्सले भने ।

फिल्म एन्जिलाकै जीवनीबाट प्रभावित भएपनि उनको जीवनीको ७५ प्रतिशत भाग समेटिनेछ । बाँकी २५ प्रतिशत फिक्सनल हुने चाम्सले बताए ।

फिल्म कै लागि भनेर एन्जिलाले अहिले मण्डला थियटरमा अभिनय सिकिरहेकी छन् । आफ्नो तर्फबाट अभिनयमा शतप्रतिशत दिने कोसिस गर्ने एन्जिलाले बताइन ।

१३ वर्षदेखि एन्जिलाको अभिभाकत्व  ग्रहण गर्दै आएका फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कथा युवापुस्तामा प्रेरणा बन्ने विश्वास व्यक्त गरे ।

‘एन्जिलाको जीवनीमा नै फिल्म बनाउने निर्णय किन गर्‍यौं भने, उसको कथा इन्स्पायर्ड छ । खेल क्षेत्रमा संघर्ष गर्ने पात्रहरुको प्रतिनिधित्व गर्दै एन्जिलाको जीवनीमा फिल्म बनाउन लागेका हौं । उसको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर्ड गर्छ भन्नेमा विश्वस्त छौं ।’

फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे ।

केन्द्र मोशन पिक्चर र मून लभ इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बुको लगानी रहनेछ ।

जेठ अन्तिमबाट छायांकनमा जाने फिल्ममा विनोद अग्रवाल र राजेश अग्रवालको सहलगानी रहनेछ । फिल्मलाई सुदिप बरालले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्