लेखनमा ‘लाटाको देशमा गाँडो तन्नेरी’ जस्तो म – प्रदीप भट्टराई



रंगखबर, काठमाडौँ – हुनत, फिल्मको क्याप्टेन निर्देशकलाई मानिन्छ । तर, दर्शक माँझ छाप छोड्ने भनेका त्यहि निर्देशकले पस्किएका मनोरंजनका खुराक मात्र हुन् । त्यसैले निर्देशकलाई त्यति धेरै दर्शकले चिन्दैनन् ।

नेपालमा केहि निर्देशक यस्ता पनि छन्, जसको फिल्म भनेपछि दर्शकले व्यग्र प्रतिक्षा गर्छन । पछिल्लो छिमलका निर्देशक प्रदीप भट्टराई दुई फिल्मबाटै दर्शकमा नोटिस भैसकेका छन् । त्यसैले उनको तेस्रो निर्देशकीय खुराक ‘जात्रै जात्रा’ प्रतिक्षित छ ।

‘जात्रै जात्रा’ फिल्मसँग जोडिएर भट्टराईलाई ‘टेक योर पिक’मा आधारित रहेर केहि प्रश्न सोधिएको थियो । भट्टराईको जवाफ, जस्ताका त्यस्तै ।

‘जात्रै जात्रा’ समिक्षा गर्नका लागि वा मनोरंजन लिनका लागि ?

फिल्म भनेकै मनोरंजन लिनेहरुका लागि हो । तर, समिक्षा नगर्दा फिल्म, फिल्म रहँदैन । गहिरिए भन्दा पनि पहिलो आँखाले जे देख्छ, त्यसैलाई मनोरंजनको रुपमा लिएर समिक्षा गर्न सकिन्छ । ‘जात्रै जात्रा’ भने, मनोरंजनका लागि ।

कथा/पटकथा बलियो वा टिम र गीत/संगीत ?

गीत/संगीत त पब्लिसिटीका लागि मात्र हो । फिल्मको कथा/पटकथा नै बलियो हो । ‘जात्रा’ राम्रो हुँदा हुँदै पनि उल्लेख्य दर्शक माँझ पुगेन । त्यसैले गीत/संगीत र स्टारकास्टको सहारा लिएका हौँ ।

दयाहाङ राई की विपिन कार्की ?

कथाले माँगेको मुख्य पात्र अनुसार त शतप्रतिशत विपिन नै हो । दयाहाङको ठाउँमा अरुलाई पनि लिन सकिन्थ्यो ।

सुन वा पैसा ?

‘जात्रा’ आफैँमा पूर्ण थिएन । त्यसको यात्रा ‘जात्रै जात्रा’ले पूर्ण गर्छ । त्यसैले सुन र पैसामा भिन्नता छैन ।

‘जीवन जात्रा हो’ र ‘माया पिरिम’ गीत मध्ये कुन अपरिहार्य ?

जीवन जात्रा हो, कथाले मागेको र पात्रले भोग्ने गीत हो । जो सजिलै अटाएको छ । भने, ‘माया पिरिम’ प्रचारको उपकरण मात्रै हो । त्यसैले ‘जीवन जात्रा हो’ मनको गीत हो हाम्रो ।

संगीतवाला सिक्वेल वा संगीत विनाकै प्रिक्वेल ?

हामीलाई पनि भित्रि मनदेखिको एउटा अर्गानिक कुरा निकाल्न मन थियो । जुन एउटा फरक चिज हामीले जन्मायौं, त्यो नै ‘जात्रा हो । जो भित्रैबाट निचोरिएर आएको थियो । त्यसैले ‘जात्रा’ नै हाम्रो लागि प्यारो हो । भने, त्यहाँ बाँकी चिजलाई सिक्वेलले पुरा गर्न मात्रै खोजेको हो । त्यसकारण ‘जात्रा’ नै रोज्छु ।

बक्सअफिस सफलता वा दर्शकको उम्दा प्रतिक्रिया ?

उम्दा प्रतिक्रिया नै हो । दर्शकले राम्रो प्रतिक्रिया दिए पछि त बक्सअफिस सफलता आइहाल्छ नि ।

निर्देशन कि लेखन ?

लेखक त म ‘लाटो देशको गाँडो तन्नेरी’ भएर मात्रै भएको हो । किनकी, मलाई लेख्न जति अप्ठेरो केहि पनि लाग्दैन । यदि लेखन ‘प्रफेक्ट’ भएन भने त्यहाँ मजाक भैदिन्छ । तर, निर्देशन भनेको ५० प्रतिशत टेक्निकल कुरा हो । र, ५० प्रतिशत सबै भावनासँग खेल्ने कुरा हो । जस्तो कि क्यामरा, स्क्रिप्ट, पात्रको भावना ।

अहिलेसम्मको लागि मन पर्ने स्क्रिप्ट लेखन नै हो । तर, यदि मैले लेखेको स्क्रिप्ट माथि (झुर लेखिस भनेर) औँला उठाउने कोहि आउँछ भने त्यहि दिनदेखि लेखन बन्द गरिदिन्छु ।

निर्माणको लागि रविन्द्र सिंह बानियाँ या महसंचार उत्तम ?

पहिलो फिल्म रविन्द्रसँगै गरेको थिए । अहिले दोस्रो पटक भयो । आफ्नै उमेर समुहको भएकाले उहाँसँग बाझ्न, खुसि साट्न, चित्त दुखाईका कुरा गर्न पनि सजिलो हुने भएकाले, निर्माताको रुपमा रविन्द्रनै उत्तम ।

वर्षा राउत वा आँचल शर्मा ?

दुवै जना राइजिङ स्टार आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ । तर, ३ फिल्म निर्देशन गर्दासम्म वर्षासँग २ फिल्ममा काम गर्ने मौका पाए । त्यसैले वर्षा रोज्छु ।

प्रतिक्रिया दिनुहोस्