मुंबई। रणबीर कपूरको मुख्य भूमिका रहेको ‘संजु’ जुन संजय दत्तको जीवनमा आधारित चलचित्र हो। गत शुक्रबार मात्रै रिलिज भएको चलचित्रले बक्स अफिस पहिलो दिननै आफ्नो जादु देखाई सकेको छ।
रणबीरको ‘संजु’ले भारतीय बक्स अफिसमा जस्तो नतिजा ल्याएको छ,त्यस्तो नतिजा अरु सिनेमाहरुले एकदमै कम ल्याएका छन् ।
राजकुमार हिरानीको चलचित्र ‘संजु’ ले पहिलो तिन दिनमै १२० करोडको कमाइ गर्न सफल भएको छ। ‘संजु’ ले आइतबार ४६ करोड ७१ लाख भारतीय रुपैयाँको कलेक्सन गरेको थियो। रणबीरको यो चलचित्रले अहिले सम्मको कमाइको सम्पूर्ण रेकर्ड तोडेको छ।
‘सन्जु’ ले घरेलु बक्स अफिसमा पहिलो दिननै ३४ करोड ७५ लाख रुपयाँको बम्पर कलेक्सन गरेको थियो। र दोस्रो दिन ३८ करोड ६० लाख कलेक्सन गर्दै,यो बर्षकै सबभन्दा धेरैको ओपनिङ गर्ने चलचित्र बन्यो।
रणबीर कपूरको संजुले एउटा नयाँ इतिहास रचेको छ। यो चलचित्र हिन्दि भाषाको यस्तो चलचित्र हो जसले एकदिनमा सबैभन्दा अधिक कमाई गर्यो। यसले बाहुबली २ को रेकर्ड समेत तोडेको छ। साथै केहि अघि मात्रै रिलिज भएको सलमान खानको चलचित्र ‘रेस थ्री’ को रेकर्ड समेत तोडेको छ ।
यो चलचित्र सँगै रणवीर कपुरको करियरले पनि यु टर्न लिएको छ। संजु उनको जीवनकै सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ। उनको १२ बर्ष लामो बलिउडको करियरमा जम्मा तीनवटा चलचित्र मात्रै सय करोड क्लबमा पर्न सफल भएका छन्। त्यसमा अब भने ‘संजु’ पनि थपिएको छ।
लगभग २ घण्टा ४० मिनट लामो चलचित्र २९ जुनमा रिलिज भएको हो,जसमा संजय दत्तको जीवनका हरेक क्षणलाई देखाइएको छ। साधारण तया आजकल ठुला चलचित्रहरु कुनै चाड पर्वको बारेमा मात्रै रिलिज हुन्छ,जसले गर्दा चलचित्रको कमाइ अन्य समयको भन्दा धेरै हुन्छ।
तर संजु भने नन होलिडे मा रिलिज भएर पनि राम्रो कमाइ गरेको छ। करिब ४० करोडमा बनेको चलचित्र भारतमा ४००० र अन्य ६५ देशहरुमा १३०० स्क्रिंसमा रिलिज गरिएको छ।