अनिल यादवको नजरमा ‘कृ’ : धरापमा अनमोलको स्टारडम



–अनिल यादव

एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए । कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन् । यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिशामा छु या गलत, मलाई ठम्याउनै मुस्किल पर्छ । त्यसैले म आफ्नो परिवार र साथीहरुको सुुझावलाई निकै गम्भीरतापूर्वक लिन्छुु किनभने उनीहरु नै हुन्, जसले मलाई जमिनमै टिकाइरहन्छन्, हावामा उड्न दिँदैनन् ।’

नेपालमा अहिले जताततै अनमोल केसीको चर्चा छ । उनकै हाइहाइ छ । फिल्म इन्डस्ट्रीसँग जोडिएका बहुमत अहिले उनीसँग काम गर्न लालायित छन् । उनी नेपाली फिल्मका दर्शकलाई हलसम्म तान्ने चुम्बक बनेका छन् । उनलाई भेट्न, सँगै फोटो खिचाउन युवायुवतीको ठूलो समूह मरिहत्ते गर्छन् ।

वास्तविकता यही हो– अनमोल यतिखेर नेपाली फिल्मीनगरीका स्टार हुन्, उनको गजबको स्टारडम देखिएको छ । यस्तो स्टारडमले फिल्मको अर्थतन्त्र एक्लै धान्न सक्छ ।
अघिल्लो साताबाट हलमा रिलिज भएको फिल्म ‘कृ’को यथार्थ पनि यही नै त हो । ‘कृ’ हेरिसकेपछि यति भन्न सकिन्छ– यो फिल्म अनमोललाई ‘एंग्री लुक्स’मा स्थापित गर्न मात्र बनाइएको हो ।

‘कृ’ अनमोलको पाँचौँ फिल्म हो । पाँचौ फिल्मसम्म आइपुग्दा उनमा देखिएको ग्रोथ ‘लुक्स’मा मात्र हो । अघिल्ला फिल्ममा लगातार ‘चकलेटी लुक्स’मा देखिएका उनी यसमा ‘एंग्री लुक्स’मा छन् । पाँचौँ फिल्मसम्म आइपुग्दा अनमोलको अभिनयमा कुनै उन्नति देखिँदैन ।
‘कृ’ मा आफूलाई एक्सन अवतारमा उतार्न ज्यान बनाउन र एक्सन सिक्न उनले गरेको मिहिनेत पर्दामा देखिन्छ तर कथा र प्रस्तुतिका हिसाबले यो उनका अघिल्ला चार फिल्मभन्दा पनि कमजोर फिल्म हो ।

अनमोलको प्रयासमा गम्भीरता देखिन्छ तर फिल्मभरि केही हेर्नलायक कुरा छ भने त्यो अनमोलका केही एक्सन दृश्य मात्रै हुन् । बाँकी सबै ‘बोरिङ’ ।

यो फिल्म रिलिज भइसकेपछि ढुक्कसाथ भन्न सकिन्छ– अनमोलले  यस्तै फिल्म खेलिरहने हो भने उनको ओरालो गति निक्कै तीव्र हुनेछ । जहाँ ब्रेक लाग्दा आउने नतिजा पनि दुघर्टना मात्रै हो ।

स्टारडम जोगाउने हो भने उनले आफ्नै सहयोगीसँग प्लेनमा झगडा गर्दै उकालो चढेको करिअर धरापमा पारेका कपिललाई सलमानले भनेको अभिव्यक्ति सम्झिन उत्तम हुन्छ । उनको रुचि प्रशंसा गर्नेको भिडमा हैन अब ‘जेन्युन’ सुझावकर्तामा सर्न जरुरी छ ।

विस्तृतमा जानुअघि ‘कृ’को कथामाथि छोटो टिप्पणी गरौं ।

लाहुरे बनेपछि अभय (अनमोल) बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) खोज्दै गाउँ छिर्छन्, भेट सजिलै जुर्छ तर अभय उनलाई चिनाउँदैनन्, केशरले चिन्दिनन् । जब अभय चिनाउन खोज्छन्, केशर सुन्न चाहन्नन् । केशरले उनकाबारे जब थाहा पाउँछिन्, अभय सहर फर्किसक्छन् । त्यसपछि केशर अभय भेट्न सहर जान्छिन् तर पुनः उनीहरुको भेट हुन्छ ? या कथाले अर्कै मोड लिन्छ । फिल्मको कथा यही प्रश्नको वरिपरि घुमेको छ ।

फिल्म हेर्दा सहजै देखिन्छ यसको ठूलो कमजोरी पटकथा र प्रस्तुतिमा छ । यसको अपयश फिल्मका निर्देशक सुरेन्द्र पौडेललाई नै जान्छ । फिल्मको कथा र सम्पादन पनि उनकै हो ।

फिल्म सम्पादक हुँदै निर्देशनमा हाम्फालेका सुरेन्द्रको यो दोस्रो निर्देशकीय फिल्म हो । यसअघि ‘आभाष’ बनाएका थिए जुन फ्लप भयो । अनमोलजस्तो अहिलेका हटकेक र बिकाउ अभिनेतालाई लिएर पनि उनले जुन गुणस्तरको फिल्म बनाए, त्यसले उनको भविष्य निर्देशनभन्दा सम्पादकमै सुरक्षित देखायो ।

फिल्मको ‘ओपनिङ सिन’मै यो बदलाको कथामा बुनिएको हो भन्ने अड्कल काट्न त्यत्ति दिमाग चलाउनु पर्दैन । सानो छँदाकी प्रेमिकालाई भेट्न, लोभ्याउन र चिनाउन फिल्ममा जति दृश्य खर्च गरिएका छन्, त्यो अहिलेको अवस्थामा विश्वसनीय लाग्दैन ।

प्रविधिको बढ्दो विकाससँगै सम्पर्कका साधन यत्ति स्मार्ट भइसकेको छ कि लामो समयको ग्यापपछि कोही पनि आदर्शप्रेमी बाल्यकालकी प्रेमिका खोज्न गाउँ नै पस्नुपर्ने बाध्यता छैन । अनि आफ्नो प्रेम ब्युताउँन चिनोको सहारा लिने प्रेमी ‘क्लासिक’ भइसके अब । नयाँ स्टारलाई नयाँ सेटिङमा पस्कँदा अपनाएको यस्ता पुरानो फर्मुला फिल्म सुहाउँदो छैन ।

पर्दामा अचानक जन्मने भिलेन (अनुपविक्रम शाही) र अभय बीचको द्वन्द्वमा फिल्मको दोस्रो भाग केन्द्रित छ । निर्देशकले कथामा केवल नयाँ ‘ट्विस्ट’ ल्याउन मात्रै भिलेनको प्रवेश गराएको देखिन्छ।

एक्सनका केही दृश्यमा अनमोल गजब देखिन्छन् । फिल्ममा प्रेम र बदलाको कथा छ तर विडम्बना यसले दर्शकको मनभित्रको संवेदनालाई छुन सक्दैन । पानीमाथिको तेलझैँ बगिरहन्छ।

प्रेम र बदलाको कथा पस्कदा दर्शकको मन नहुँडल्नु, भित्री संवेदना छुन नसक्नु पक्कै लेखक, निर्देशक र कलाकारको ठूलो कमजोरी हो । फिल्मका केही दृश्यले दर्शकलाई फिल्म हेरिरहेको नभई झेलिरहेको महसुस गराउँछ । विडम्बना, पर्दामा फिल्मको अन्त्यसम्म दर्शकले कहानी खोजिरहन्छन्, अनमोलले भने प्रेमिका र अपहरण गर्ने अनुप ।

यो फिल्मको जति चर्चा र प्रतीक्षा भयो त्यसको एकल कारण अनमोल नै देखिए । फिल्मको कमजोरीको अपयश एकल निर्देशकको काँधमा चढाएर उनी यसबाट उम्कन सक्दैनन्।

यो उनको पहिलो फिल्म हैन । जति मिहिनेत उनले आफूलाई नयाँ लुक्समा देखाउन गरेका छन्, त्यत्ति नै मिहिनेत उनले फिल्मको अन्य पक्षमा पनि गरेको भए पक्कै नतिजा फरक हुन्थ्यो।

अब अनमोलले स्टारडम जोगाउने हो भने निर्देशक, छायांकार, स्क्रिप्ट पनि उत्कृष्ट छान्न सक्नुपर्छ। आफ्नो क्रेजलाई जोगाइरहने हो भने राम्रो अभिनेतामा हुनुपर्ने राम्रो अभिनयको कलासँगै यो गुण पनि अनिवार्य छ। आफूमा छनोटको गुण छैन भने सहयोगीमार्फत् यसको पूर्ति गर्न सकिन्छ । जुन मामिलामा अनमोल नराम्रोसँग चुकेका छन् ‘कृ’ मा ।

‘कृ’भर अनमोल हावी हुँदा यही फिल्मबाट डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी छायामा परिन् । उनले पर्दामा त्यस्तो कुनै कमाल गर्न सकेकी छैनन्।

फिल्ममा वाह भन्न लायक साउन्ड डिजाइनर उत्तम न्यौपानेले सिर्जेको ध्वनि मात्र हो । यसमा खोट भेटिन्न । पृष्ठभूमिमा बज्ने ‘जानी नजानी’ गीतको ध्वनिले दृश्यलाई जीवन्त बनाउन सघाएको छ तर फिल्ममा यही गीतको प्रयोग सान्दर्भिक लाग्दैन ।

पुुलिस इन्स्पेक्टरको भूमिकामा देखिएका कामेश्वर चौरसियालाई दर्शकले ‘नोटिस्ड’ गर्छन्, सुदाम सिके पनि फिट छन् । सिनेमाटोग्राफी फिल्मको अर्को प्रशंसनीय पक्ष हो । फिल्मको मेकिङमा निर्माताद्वय सुवास गिरी र भुवन केसीले आफ्नो ठाउँबाट बजेट निकासा गर्न कुनै कन्जुस्याइँ नगरेको पर्दामा प्रस्टै देखिन्छ तर लगानी सही ठाउँमा सही ढंगले हुन सकेन भने के हुन्छ ? त्यो पनि यही फिल्मले देखाउँछ।

फिल्ममा पटक–पटक भिलेनले चार करोडको माल गायब भएको भनेर रिसाइरहन्छ तर त्यो माल कसरी र के भएर गायब भयो फिल्म सकिदासम्म रहस्य खुल्दैन।

‘लाहुरे’ अनमोलसँग बिहे गर्न एक हुल युवती उनकै घरमा लाम लागेर आउँछन् र अनमोलकै हजुरआमाले छान्न लगाउँछिन् । यो समयमा ‘मलाई छान न, मलाई’ भन्दै युवतीहरुले गरेको त्यस्तो आग्रह कति स्वभाविक देखिएला ?

जब (अभय)अनमोल आफ्नो बाल्यकालको प्रेमी हो भनेर (केशर)ले थाहा पाउँछिन्, उनी जिन्स प्यान्ट र टप लगाएर घरबाट दगुरेर कुद्छिन् । अचम्म, जब उनी घरबाहिर पुग्छिन् ड्रेस गायब । एकै पटक कुर्ता सुरुवालमा देखिन्छिन् । यस्ता दृश्य फिल्ममा धेरै छन्।

सरोज खनालको अभिनय फिल्ममा जीवन्त देखिन्छ । रक्सी नपिइकन रक्सी पिएको अभिनय गर्नु त्यति सजिलो काम होइन तर उनी यसमा जीवन्त देखिएका छन् तर यही भूमिकामा अनमोल अस्वाभाविक लाग्छन्।

‘कृ’ न दर्शकसँग जोडिन सकेको छ न यसले दर्शकको दिमागलाई व्यस्त राख्न नै । यति भन्न सकिन्छ, यो फिल्म नबनेको भए पनि नेपाली फिल्म क्षेत्रलाई घाटा हुने थिएन।

अनमोलका लागि अर्को दुःखको कुरा, उनका डाइहार्ड फ्यानलाई पनि यो फिल्मले रिझाउन मुस्किलै छ । कारण, उनका अघिल्ला चार फिल्मभन्दा पनि झुर छ ‘कृ’। वास्तविकता यही हो ।

एउटा पर्फेक्ट अभिनेता हुनलाई आकर्षक लुक्स भएरै मात्रै पुग्दैन, ऊ ‘एक्सप्रेसिभ’ पनि हुन सक्नुपर्छ । निर्वाह गरिरहेको क्यारेक्टरलाई केले निर्देश गरिरहेको छ ? यसका आवश्यकता केके हुन् ? यिनीहरु किन यसरी अभिनय गर्छन् ? चरित्रको व्यवहार बारेमा ऊसँग राम्रो अध्ययन हुनुपर्छ।

राम्रो एक्टर उत्तिकै कल्पनाशील पनि हुनुपर्छ। उसको काम ती मान्छेहरुको अनुकरण गर्नु हो, जो स्वयम् तिनीहरु होइनन्। त्यसैले नयाँनयाँ मान्छेहरुलाई हेर्नु, भेट्नु र उनीहरुको काम नियाल्नु, उनीहरु जे काम गर्छन् त्यो किन गर्छन् भनेर जान्न खोज्नु राम्रो अभिनेताको  गुण हो । अनमोलका पाँचवटै फिल्मलाई नियालेर हेर्दा उनमा यसको ठूलो अभाव खड्किन्छ।

साभार: शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्