–अनिल यादव
आफू भ्रष्टाचार निवारण आयोगबाट भन्दै एकजना कर्मचारी सरकारी इन्जिनियरकहाँ आइपुग्छ । भन्छ, ‘पर्खाल त पूरा गर्नु भएनछ नि थापाजी ?’ इन्जिनियर थापाले तुरुन्तै उसको सहयोगी सुधीरलाई बोलाउँछ र थाहा नपाएजस्तो गरेर सोही विषयमा जानकारी लिन खोज्छ । सुरु नै नभएको पर्खाल साढे तीन तलामात्र पुरा भएछ भनेर प्रश्न सोधिएपछि सुधीर चकित हुँदै अनभिज्ञता प्रकट गर्छ । ‘पर्खाल भनेको थाहा छ उल्लु ? पर्खाल अर्थात् भित्रको कुरा ढाक्ने जिनिस,’ जब थापाले प्रस्ट पारिदिन्छन्, अनि मात्र उसले थाहा पाउँछ– पर्खाल भनेको त पैसा पो रहेछ । साढे तीन तला भनेको साढे तीन लाख रुपैयाँ ।
राजधानीको लाजिम्पाटस्थित थिएटर भिलेजमा मञ्चन भइरहेको नाटक ‘सिंहदरबारको टेन्डर’ को एउटा दृश्य हो यो । अजय शुक्लाको नाटक ‘ताजमहल का टेन्डर’ लाई नेपाली परिवेशमा ढालेर बनाइएको यो नाटकले निजी स्वार्थका लागि सत्तामा पुग्ने सरकार र भ्रष्ट कर्मचारीप्रति कडा व्यंग्य गरेको छ । नाटकमा ‘सरकार’ को भूमिकामा प्रस्तुत भएका सुजन वलीको सपनाबाट सुरु हुन्छ । अर्को सिंहदरबार बनाउने सपना । अनि, आफू सयौँ वर्षसम्म जनतासामु जीवित बन्ने सपना । सातदिनभित्र नक्सा तयार पार्न लगाउँदै सिंहदरबार बनाउने कामको जिम्मेवारी उसले इन्जिनियर थापा (भोलाराज सापकोटा) लाई सुम्पिन्छ । सरकारको सिंहदरबारको सपनासँगै थापाले ‘रिटार्यर्ड लाइफ’ का लागि घरदेखि फाइभस्टार होटलसम्मको सपना देख्छ । तर, सात दिन होइन, आठ वर्षसम्म पनि सिंहदरबारको टेन्डर आह्वान हुँदैन । तर, थापाको फाइभस्टार होटलचाहिँ बनिसक्छ । नयाँ सिंहदरबारको सपना देख्ने सरकार आफैँ लाचार बनिसकेको हुन्छ । रोगले उसलाई ह्विलचेयरमा पुर्याईसक्छ ।
नाटकको मध्यतिर ठेकेदारले इन्जिनियरलाई एक सुटकेस पैसा ल्याइदिन्छ । इन्जिनियर थापाले त्यो सुटकेस भाउजूकहाँ पुर्याईदिन सुधीरलाई अह्राउँछ । आफूले पनि मेहनत गरेको भन्दै सुधीरले भाग खोजेपछि थापाले भन्छ, ‘दुइटा चकलेट तिमी खाऊ, बाँकी घर पुर्याईदेऊ ।’ चकलेटलाई लाखको बिटोको ‘मेटाफोर’ का रूपमा प्रयोग गर्ने भ्रष्टाचारीको भाषाले सबैलाई हसाउँछ । नाटकमा सिंहदरबारलाई गोठको संज्ञा दिँदै, ‘यो गोठमा जनावरहरू त पक्कै पालिन्छ होला, होइन ?’ भन्ने संवादले भ्रष्ट सरकारलाई चोटिलो व्यंग्य गर्छ । जनताको काम र सेवा गर्नभन्दा आफ्नै दुनो सोझ्याउन व्यस्त नेता र कर्मचारीका लागि यो नाटक गह्रुँगो थप्पड हो ।
‘नाटकले इमान हराएको समाजको चित्रण गरेको छ । नाटकमा प्रशासनिक झमेला र राजनीतिक अस्थिरताको आडमा झाँगिएको व्यक्तिगत स्वार्थ र लोभ अभूतपूर्व उचाइमा पुग्छन्,’ यही नाटकबाट निर्देशनमा डेब्यू गरेका दिलीप रानाभाट भन्छन्, ‘कहिले पूरा नहुने विकासका सबै योजना सधैँका लागि निश्चित वर्गको कमाइ खाने भाँडो बनेको तीतो यथार्थ नाटकमा झल्काउने प्रयास गरेका छौँ ।’ निर्देशनमा उनलाई प्रकाश दाहालले सहयोग गरेका छन् ।
१ घण्टा २० मिनेट लामो यो नाटकले दर्शकलाई राम्रैसँग बाँधेर राख्छ । नाटकले कतै–कतै पेट मिच्नुपर्नेगरी हसाउँछ । इन्जिनियरको पियनका भूमिकामा देखिने तोया (प्रकाश दाहाल) को हाउभाउ र ‘हजर’ भन्ने शैलीले दर्शकलाई खूब हसाउँछ ।
नाटकमा इन्जिनियर थापाको अभिनय सशक्त छ । ठेकेदार ‘सागर’ को भूमिकामा देखिने श्रवण रानाको अभिनय पनि जीवन्त छ । ‘सरकार’ बनेका सुजनको अभिनय प्रशंसनीय छ । संगीत सापकोटा, ऋषभ केसी, सविर चुरौटे, एवनराज उप्रेती, जीवन भट्टराई, गोपाल अर्याल, डार्बिन लुङ्गेली र विजय ताम्राकारले राम्रो अभिनय गरेका छन् । मञ्च परिकल्पना विमल सुवेदीले र संगीत श्रवल आरपीले सम्हालेका छन् ।
साभार : शुक्रवार साप्ताहिक